चितवन । प्रेस चौतारी चितवनले जिल्लाका पत्रकारहरुलाई आइपर्ने विभिन्न समस्या वा पीडामा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको कल्याणकारी कोषमा रकम जुट्ने क्रम जारी छ । प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय युवा संघ नेपाल चितवनका संयोजक शंकर अधिकारीले नगद १० हजार आर्थिक सहयोग गरेका छन् । संयोजक अधिकारीले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितमार्फत कोषलाई सो रकम हस्तान्तरण गरेका हुन् । अधिकारी प्रेस चौतारी बागमती प्रदेश कमिटीको निवर्तमान सदस्यसमेत हुन् ।
पत्रकारिता क्षेत्रमा समेत रुची राख्ने अधिकारीले जिल्लाका पत्रकारहरुलाई समस्या पर्दा सबैले सहयोग गरेको रकमबाट थोरै भए पनि राहात पाउने विश्वास लिएको बताए । उनले आगामी दिनमासमेत सहयोगलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाउँदै चौतारी चितवनले पत्रकारहरुको पक्षमा गरेको काम उदाहरणीय भएको बताए । उनले विभिन्न अवसर, समारोह वा विषेश दिनमा सबैले जति सकिन्छ त्यति सहयोग गरेर कोषलाई मजबुद बनाउँदै जाँदा भविष्यमा जो कोही पत्रकारलाई पनि समस्या पर्दा सहयोग गर्न सक्ने वातावरण बन्ने बताए ।
सो क्रममा चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले युवा संघ नेपाल चितवनका संयोजक अधिकारीले गरेको सहयोगले हौसला र उर्जा थपिएको बताउँदै यसले राम्रो सन्देश प्रवाह गर्ने बताए । पत्रकार कल्याणकारी कोषको कार्यविधी नै बनाएर अगाढि बढेको अध्यक्ष पण्डितको भनाई छ । गत भदौ १२ गतेदेखि चौतारी चितवनले स्थापना गरेको कोषमा हालसम्म ६५ हजार १५५ रुपैयाँ जम्मा भइसकेको छ ।











