चितवन । भरतपुर–माडी हुलाकी सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–७ को सिर्जना चोक–सिताराम चोक सडक खण्डलाई व्यवस्थित गर्न भरतपुर–७ वडा कार्यालयले आग्रह गरेको छ । यस सडक खण्डमा राखिएका अनावश्यक होर्डिङ बोर्ड र निर्माण सामग्री हटाउन तथा क्यान्सर अस्पतालको १ नम्बर गेटमा विरामीलाई तानातान गर्ने कार्य बन्द गर्न आग्रह भरतपुर–७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले आग्रह गरेका छन् ।
काफ्लेले एक सूचना जारी गरी विजुलीका पोलमा राखिएको होर्डिङ बोर्ड, बाटोलाई अवरोध हुनेगरी राखिएका निर्माण सामग्री र व्यवसाय तत्काल हटाउन निर्देशन दिएका हुन् । त्यस्तै, क्यान्सरका विरामीलाई विभिन्न प्रलोेभन देखाएर तानातान गर्ने र भिडभाड गर्ने जस्ता गतिविधि बन्द नगरे वडा कार्यालयले कारबाहीको प्रक्रियालाई अगाडि बढाउने काफ्लेले चेतावनी दिएका छन् ।












