भरतपुर । जेसिज एरिया ‘बी’को शाखा अध्यक्ष भेला भोलि दासढुंगामा हुँदै छ । जेसिज देवघाटधामको आयोजनामा हुने भेलामा जेसिज एरिया ‘बी’को ४१ शाखाका अध्यक्षहरु सहभागी हुने छन् ।
स्थापनाको दोस्रो वर्षमै शाखा अध्यक्ष भेला आयोजना गर्ने मौका पाएको जेसिज देवघाटधामले देवघाटको पर्यटन प्रबद्र्धनमा भेलाले सहयोग पुग्ने विश्वास गरेको छ । नेपाल जेसिजको देशभर चार वटा क्षेत्र छन् । त्यसमध्ये एरिय ‘बी’ सर्लाहीको लालबन्दीदेखि म्याग्दीसम्म पर्छ ।
शाखा अध्यक्ष भेला सुरु गर्नुअघि टाउनचोक देखि देवघाटको वेणीसम्म कलश यात्रा निकालिने देवघाट जेसिजका संस्थापक अध्यक्ष विकास सापकोटाले बताए । कलश यात्रामा शाखा अध्यक्षहरु, देवघाटस्थित दुई बालिका आश्रमका बालबालिका, स्थानीयलगायको उपस्थित हुने उनले बताए ।
देवघाटको पर्यटन प्रबद्र्धन गर्न जेसिज एरिया ‘बी’का शाखा अध्यक्षलाई पर्यटन दुतका रुपमा पठाउने जेसिजको केन्द्रिय उपाध्यक्ष राधिका भुसालले बताइन् । जेसिजमा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवायुवतीहरु आबद्ध छन् ।












