चितवन । ‘जनताको रहर, हरित शहर’ कार्यक्रम अन्तर्गत बाइपास सडकमा वृक्षरोपण गरिएको छ । सडकलाई सौन्दर्यकरण गर्नका लागि बाइपास सडकको बिशाल चोकदेखि मालपोत चोकसम्मको डिभाइडरमा सजियम र बौगेनबेलिया जातका विरुवा रोपिएको हो ।
विरुवा रोप्नका लागि भरतपुर महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई र सडक डिभिजन भरतपुर बीच गएको असोज १२ गते सम्झौता भएको थियो । विरुवा रोप्नको लागि सडक डिभिजनले स्थान र माटोको व्यवस्था गरेको थियो भने राष्ट्रपति चुरेले विरुवा उपलब्ध गराएको हो । विरुवाको संरक्षणको जिम्मा भरतपुर महानगरले लिएको छ ।
शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेकी हुन् । वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भरतपुरमा बनेका सडकलाई सौन्दर्यकरण गर्न यस्ता विरुवाले ठूलो भूमिका खेल्ने बताइन् । महानगरले एक घर दुई विरुवाको नीति नै लिएकाले भरतपुरलाई हेर्न लायक, हरियाली एवम् वातावरणमैत्री सहरका रुपमा अगाडि बढाउन लागिएको उनले बताइन् ।
बाइपास सडकको डिभाइडरमा तीन मिटरको फरकमा ३६० वटा सिजियम र एक मिटरको फरकमा २६० वटा बौगेनबेलिया रोपिएको छ । यी विरुवा तीन फिट भन्दा अग्ला हुन्छन् । विरुवाको बीचमा कार्पेठग्रास लगाइने राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले बताए ।
उनका अनुसार यस आर्थिक वर्षमा भरतपुरसहित २४ पालिकामा सहर केन्द्रीत वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको छ । सहरमा वृक्षरोपण गर्नाले ४ देखि ५ डिग्रीसम्म तापक्रम न्युनिकरण गर्न सकिने अध्ययनले देखाएकाले सहरी क्षेत्रमा वृक्षरोपणलाई प्राथमिकता दिइएको उनले बताए ।
बढ्दो जनसंख्याको वृद्धिसँगै वृक्षरोपणलाई पनि बढाउदै सहरको सौन्दर्यकरण गरी हरित सहर निर्माणमा जुट्नुपर्नेमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई भरतपुरका प्रमुख श्याम लोप्चनले जोड दिए । विकसित सहरमा कुल बजेटको १५ प्रतिशत रकम हरियाली प्रर्वद्धनमा बजेट विनियोजन गर्ने परिपाटी रहेको उनको भनाई थियो ।












