चितवन । ‘आजको आवश्यकता, सिमसारको पुनःस्थापना’ नाराका साथ बिहीबार विश्व सिमसार दिवस मनाइँदैछ। दिवसको अवसरमा चितवनम विभिन्न कार्यक्रम गरिँदै छ । चितवन राष्ट्रिय निकुञ्जले सिमसार दिवसको अवसरमा अन्तरक्रिया तथा घडियाल गोही नदीमा छाड्ने कार्यक्रम राखेको छ ।
मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन ।
नेपालका १० वटा क्षेत्र रामसार सूचीमा सूचीकृत छन्। नेपालको ६० हजार ५६१ हेक्टर क्षेत्र रामसारमा पर्छ। पहिलो पटक सन् १९८७ डिसेम्बर १७ मा नेपालको कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सुचिकृत गरिएको थियो।
कोशीटप्पुसहित बिसहजारी तथा आसपासका ताल, घोडाघोडी ताल क्षेत्र, जगदिशपुर जलाशय, रारा, फोक्सुण्डो, गोसाइँकुण्ड तथा आसपासका क्षेत्र रामसारमा सूचीकृत छन्। यस्तै गोक्यो तथा आसपासका ताल, माइ पोखरी र पोखरा उपत्यकाका ताल पनि सूचीकृत भइसकेका छन्। तर पछिल्लो समय रामसार क्षेत्र मासिँदै गएको छ।
मानवीय अतिक्रमणका कारण सिमसार क्षेत्र संकटमा पर्दे गएको भन्दै यसलाई जोगाउने तथा महत्त्वबारे सचेतना बढाउने कार्यक्रममा जोड दिँदै यो दिवस मनाइन्छ।











