काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।
बिहीवार मन्त्रालयमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामनासहित बिदाइ गर्दै उनले यस्तो बताएका हुन्। दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीका लागि आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाडीको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताए।
मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तराष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गरे। टोलीको सुधारोन्मुख खेलले देशको शिर ठाडो पारेको उल्लेख गरे। राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न नसकेकोप्रति आत्मालोचना गर्दै उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहने बताए।
टोलीमा अनुभवी र नयाँ खेलाडीको सन्तुलित समिश्रण रहेकोप्रति खुशी व्यक्त गर्दै मन्त्रीले वरिष्ठ खेलाडीलाई अनुजहरूलाई मार्गनिर्देशन गर्न र नयाँ खेलाडीहरूलाई अग्रजबाट सिक्न आग्रह गरे।
मन्त्री पोखरेलले चोटका कारण टोलीमा पर्न नसकेका खेलाडीहरूको योगदानको स्मरण गर्दै उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। आफ्नो मन्तव्यको अन्त्यमा मन्त्री पोखरेलले टोलीलाई उच्च मनोबलका साथ मैदानमा उत्रन आग्रह गरे।












