काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं सांसद महावीर पुनले नेपालमा टाउको दुखाइ बनेको बाँदर आतंकको समाधान हाल संसारमै नभएको दाबी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद पुनले यस्तो बताएका हुन्।
सांसद पुनले आफूले ७ वर्ष अघिदेखि नै बाँदर नियन्त्रणका लागि विश्वभर प्रविधिको खोजी गरे पनि कतै फेला नपारेको उल्लेख गरे। “आज संसारमा रकेट बनाउने प्रविधि छ, तर बाँदर भगाउने वा नियन्त्रण गर्ने कुनै प्रविधि छैन,” उनले भने।
विगतमा राष्ट्रिय आविष्कार केन्द्रले ५०–६० लाख रुपैयाँ खर्च गरेर यस विषयमा अनुसन्धानको प्रयास गरेको जानकारी दिँदै पुनले संसद्मा कराएर मात्र यो समस्या हल नहुने स्पष्ट पारे। उनले विगतमा आफूले हरेक गाउँपालिकालाई एक-एक लाख रुपैयाँ उठाएर संयुक्त अनुसन्धान गर्न प्रस्ताव गरेको समेत स्मरण गराए। बाँदरको नियन्त्रणका लागि वैज्ञानिक उपाय पत्ता लगाउन आवश्यक रहेको भन्दै उनले सरकारसँग ठोस अनुसन्धानका लागि तत्काल बजेट छुट्याउन माग गरेका छन्।












