काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले संसद्प्रति जवाफदेही नबनेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहको आलोचना गरेका छन्।
वर्तमान सरकारका कारण छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध खलबलिएको समेत उनको दाबी छ।
हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा पत्रकार निमेष बन्जाडेसँगको संवादमा सिंहले भने, ‘म भारतको प्रवक्ता पनि होइन, बालेनको प्रवक्ता होइन। भूराजनीतिक सम्बन्ध खलबलिएको छ। केपी ओली सरकारभन्दा बढी भूराजनीतिक खलबलियो। चीनसँगको सम्बन्ध पनि खलबलिएको छ। अमेरिकाबारे म भन्न सक्दिनँ।’
शाह नेतृत्वको सरकारको शासनशैलीले पाकिस्तानी मोडलको प्रजातन्त्रको स्मरण गराएको समेत उनले आरोप लगाए। ‘पाकिस्तानमा कहिले पनि डेमोक्रेसी स्टेबलाइज भएन। हुँदैन पनि। किनभने त्यहाँ संसद्लाई कहिल्यै बलियो बन्न दिइएन, नेपालको अहिलेको अवस्थालाई उदाहरण दिँदै उनले भने, अहिलेको अवस्थालाई हेर्दाखेरि त्यो आशंकालाई दरकिनार गर्न सकिन्नँ।’












