काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको अपहरण तथा हत्या घटनाको निष्पक्ष अनुसन्धान माग गर्दै विगत २३ दिनदेखि आमरण अनशनमा रहेकी अधिकारकर्मी रूबी खान र सरकारबीच मंगलबार ५ बुँदे सहमति भएको छ। सहमति भएसँगै खानले आफ्नो अनशन स्थगित गरेकी छन्।
नेपालगन्ज अस्पताल (सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज) मा अनशनरत खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाएकी हुन्।
सरकारका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्रीका विज्ञ दिपा दाहाल सम्मिलित विशेष टोलीले सोमबारदेखि निरन्तर संवाद गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिपछि खानले प्रधानमन्त्री र सरकारी वार्ता टोलीप्रति आभार प्रकट गरेकी छन्।
सहमतिका ५ मुख्य बुँदाहरू
निर्मला कुर्मी मुद्दाको शीघ्र निरूपण: जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाको हालसम्मको अनुसन्धानलाई सुक्ष्म रूपमा अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रिया अघि बढाउने।
बाँके प्रहरीको भूमिकामाथि छानबिन: रूबी खानविरुद्ध बाँके प्रहरीले दर्ता गरेको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दाको अनुसन्धान तत्काल टुङ्ग्याउने। यस क्रममा बाँकेका प्रहरी प्रमुख (SP) सहितका कर्मचारीहरूको भूमिकामाथि प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने र दोषी पाइए कारबाही गर्ने।
अन्य घटनाको प्रादेशिक अनुसन्धान: आन्दोलनका क्रममा उठाइएका अन्य घटनाहरूको लुम्बिनी प्रदेश प्रहरी कार्यालय (दाङ) मार्फत छानबिन गराउने। अनुसन्धानमा कुनै कमजोरी वा लापरवाही पाइएमा सम्बन्धित प्रहरीलाई नियमावली बमोजिम कारबाही गर्ने।
अधिकारकर्मीहरूको सुरक्षा: न्यायका लागि आन्दोलनरत रूबी खान र अन्य महिला अधिकारकर्मीहरूको जिउधनको सुरक्षाका लागि बाँकेका स्थानीय प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई विशेष निर्देशन दिने।
सहमति कार्यान्वयनको प्रतिबद्धता: दुवै पक्षबीच भएका सहमतिहरूलाई तत्काल कार्यान्वयनमा लैजाने।
रोहवरमा को-को थिए?
यो सहमतिलाई निष्कर्षमा पुर्याउन मानव अधिकार र महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले रोहवरका रूपमा हस्ताक्षर गरेका छन्। जसमा इन्सेकका लुम्बिनी संयोजक भोला महत, एड्भोकेसी फोरमका बसन्त गौतम, महिला अधिकार मञ्चका मोहम्मद शेर बागवान, मन कुमारी गुरताल र गीता रैदास रहेका छन्।











