काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र समायोजन भएको समूहको प्रतिनिधित्व, नेतृत्व चयन र विधान संशोधनलाई लिएर पार्टीभित्रको राजनीतिक गतिविधि तीव्र बनेको छ ।
विभिन्न समूहबाट पार्टीमा समाहित भएका नेताले महाधिवेशन सहमतिमै टुङ्ग्याउनुपर्ने धारणा अगाडि सारेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको देश विकास पार्टी, विवेकशील साझा पार्टी, दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल, थरुहट–थारुवान आन्दोलनसँग आबद्ध समूह तथा जेनजी अभियन्ताको समूहबिच निर्वाचनअघि रास्वपासँग पार्टी एकता भएको थियो । यी पार्टीले संयुक्त रूपमा निर्वाचनमा प्रतिनिधित्व पाएको र अहिले संसद्मा समेत सोही अनुरूपको उपस्थिति रहेकाले महाधिवेशनमा पनि समान सहभागिता सुनिश्चित गर्न सर्वसहमतिमै कार्यसमिति चयन हुन सक्ने आँकलन गरिएको छ ।
बुधबार सङ्घीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी सभापतिमा रवि लामिछानेको विकल्प नभएको बताए । रास्वपाभित्र विभिन्न राजनीतिक शक्ति समाहित भए पनि सबैको लक्ष्य राष्ट्रनिर्माणै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको स्पष्ट पार्दै भने, “पार्टीको आगामी महाधिवेशनमार्फत सर्वसहमत नेतृत्व चयनको प्रयास हुन्छ ।”
उनले रास्वपाले नयाँ नेतृत्व नखोजिएको बताउँदै महाधिवेशनले लोकतान्त्रिक प्रक्रियामार्फत सबै वैधानिक जिम्मेवारी टुङ्ग्याउने बताए । रास्वपाले विधान संशोधन प्रक्रिया पनि अघि बढाएको छ । सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा गठन गरिएको कार्यदलले प्रदेशदेखि वडा तहसम्मबाट सुझाव सङ्कलन गरिरहेको जनाएको छ । सुझावका आधारमा संशोधन प्रस्ताव तयार गरी जेठ १० गतेभित्र पेस गरिने बताइएको छ ।
यसैबिच पार्टीको निर्वाचन आयोगले महाधिवेशनको निर्वाचन मोडालिटी तयार पारिरहेको छ । केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।












