काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जनताप्रति गैरजिम्मेवार बनेको र आफ्ना कर्तव्यहरूबाट भागिरहेको आरोप लगाएका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकको सुरुवातमै प्लेकार्ड देखाएर विरोध जनाएका साम्पाङले संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो आरोप लगाएका हुन्। आफूहरूले सदनमा जनताका प्रत्यक्ष सरोकारका विषयहरू उठाउन खोज्दा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरू संसद्मा उपस्थित नभएर पन्छिन खोजेको उनको दाबी छ।
अध्यक्ष साम्पाङले आफूहरूले उठाएका प्रश्नहरू व्यक्तिगत नभएर आम नागरिकको आवाज भएको प्रष्ट पारे। उनले देशका मुख्य समस्याहरू औंल्याउँदै भने: “हामीले सिमानाको सुरक्षा, बजारमा बढ्दै गएको महंगी नियन्त्रण र सहकारी पीडितहरूलाई फिर्ता गरिँदै गरेको रकमको वास्तविक स्रोत के हो जस्ता थुप्रै गम्भीर प्रश्नहरू सोध्न चाहेका छौं। तर सम्बन्धित मन्त्रालयका मन्त्रीहरू सदनमा आउँदै आउँदैनन्।”
उनले सरकारको नीति तथा कार्यक्रम र त्यसमाथिको छलफलमा समेत मन्त्रीहरू उपस्थित नहुनु र जवाफ दिन अरूलाई नै अघि सार्नु प्रतिनिधि सभा नियमावलीको नियम १५ (उपनियम २) को सीधा उल्लंघन भएको उल्लेख गरे। सरकार संसद् र जनता दुवैप्रति उत्तरदायी हुनैपर्ने उनको जोडदार माग छ।
सरकारलाई संसद्प्रति जबाफदेही बनाउन श्रम संस्कृति पार्टीका सांसदहरूले पछिल्लो समय लगातार संसदमा प्लेकार्ड प्रदर्शन गर्दै आएका छन्।
यसैबीच, सभामुख डिपी अर्यालले संसद् बैठकभित्र प्लेकार्ड देखाउनु संसदीय मर्यादा र नियम विपरीत हुने भन्दै त्यसो नगर्न साम्पाङ र उनका सांसदहरूलाई सचेत गराएका छन्।
तर, अध्यक्ष साम्पाङले भने आफूहरूले उठाएका जनसरोकारका मागहरू पूरा नभएसम्म र सभामुखले प्रतिनिधि सभाको नियमावली पूर्ण रूपमा लागू गराएर मन्त्रीहरूलाई संसद्मा उपस्थित गराउन नसकेसम्म हरेक दिन प्लेकार्ड देखाएर विरोध जारी राख्ने अडान लिएका छन्।












