चितवन । चितवनमा चालु आर्थिक वर्षमा १३ जनामा औलो (मलेरिया) रोगको संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार, औलोको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको रगत नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पाइएको हो ।
जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले संक्रमण देखिएका सबै बिरामीहरू वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिक भएको जानकारी दिए । एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग लागेमा तीव्र वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो भई कम्पन छुट्ने र पसिना आएर ज्वरो घट्ने जस्ता लक्षणहरू देखिन्छन् ।
नेपालमा मुख्यतया ‘प्लाज्मोडियम भाइभेक्स’ र ‘प्लाज्मोडियम फाल्सिपारम’ गरी दुई प्रजातिका औलोका परजीवीहरू पाइन्छन् । यसमध्ये नेपालमा सामान्यतया ‘भाइभेक्स’ प्रजातिको परजीवी ७० देखि ८० प्रतिशत बढी देखिने गर्दछ ।
तर, विदेशबाट आउने नेपालीहरूमा भने बढी घातक मानिने ‘फाल्सिपारम’ प्रजातिको परजीवी भेटिने गरेको किट नियन्त्रक केसीले बताए । कुल संक्रमितमध्ये १५ देखि २० प्रतिशतमा देखिने यो परजीवीले मानिसको स्नायु प्रणाली (Nervous System) मा समेत गम्भीर असर पुर्याउन सक्छ ।
औलो संक्रमणबाट बच्नका लागि आफ्नो घर र समुदाय सफा राख्न, लामखुट्टेले फुल पार्न सक्ने पानी जमेका खाल्डाखुल्डीहरू पुर्न र सुत्दा अनिवार्य रूपमा झुलको प्रयोग गर्न जनस्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ ।












