भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले निर्वाचन आचारसंहिता पालना गर्दै फागु पूर्णिमा (होली) मनाउन आग्रह गरेको छ ।
फागुन १८ गते पहाडी क्षेत्रमा र फागुन १९ गते तराई क्षेत्रमा होली मनाइँदै छ । फागुन १९ गतेदेखि निर्वाचनको मौन अवधी लागु हुने भएकाले आचारसंहिता पालना गर्दै आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम राख्न प्रशासनले आग्रह गरेको हो ।
फागु पर्वलाई धार्मिक एवं सांस्कृतिक दृष्टिले मर्यादित, सभ्य र अनुशासित ढंगले मनाउनुका साथै निर्वाचनको सुरक्षा र निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला सुरक्षा समितिले आह्वान गरेको हो ।
समितिले निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण परिपालन गर्ने तथा आचारसंहिता उल्लङ्घन भएको तथ्यपरक जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयरनिर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृत एवं नजिकको सुरक्षा निकायलाई उपलब्ध गराउन र भिडभाड हुने कुनै पनि कार्यक्रम आयोजना गर्नु पूर्व जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिन भनेको छ ।
त्यस्तै, पर्व मनाउने नाममा कसैको ईच्छा विपरीत जवरजस्ती, अमर्यादित तथा उच्छृङ्खल व्यवहार नगर्न, मादक तथा नशालु पदार्थ सेवन नगर्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, सार्वजनिक स्थलमा होहल्ला नगर्न तथा चर्को आवाजमा बाजा (डिजें) नबजाउन, छर छिमेकलाई असर पर्ने खालका कुनै पनि कार्य नगर्न, पटका, आतिसवाजी जस्ता क्रियाकलाप नगर्न भनिएको छ ।
धार्मिक सहिष्णुता, आपसी सद्भाव कायम राखी होली तथा रंगहरुको पर्व मनाउन र कसैको इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्ने, फोहर पदार्थले छ्याप्ने, दुःख, हैरानी तथा कष्ट दिने कुनै पनि कानून विपरीतका कार्य नगर्न नगराउन सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले आग्रह गरे ।
कोही कसैले प्रचलित कानून विपरीतका कार्य गरे गराएको पाईएमा प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारवाही गरिने प्रशासनले चेतावनी पनि दिएको छ ।












