भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले निर्वाचनका बेला मदिरा विक्री वितरण तथा सेवन गर्न निषेध लगाएको छ ।
जिल्ला सुरक्षा समितिले फागुन १८ गते साँझ ६ बजेदेखि निर्वाचन सम्पन्न नहुँदासम्मको लागि मदिरा विक्री वितरण तथा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न रोक लगाएको निर्णय बुधबार गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बुधबार एक सूचना जारी गरी निर्णय कार्यान्वयनमा सघाउन होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।
यहि फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सभ्य, सुव्यवस्थित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समिति प्रतिबद्ध रहेको बताइएको छ ।
‘फागुन १८ गते साँझ ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा बिक्रि वितरण एवम् सार्वजनिक स्थलमा मदिरा सेवनमा रोक लगाइएको व्यहोरा सूचित गरिन्छ। यस सूचनाको उल्लंघन गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिनेछ’, सूचनामा उल्लेख छ ।
उक्त निर्णय कार्यान्वयन भए नभएको बारे सुरक्षा निकायबाट कडाइका साथ अनुगमन गरिने उनले बताए । निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्नका लागि चालिएको यस कदममा सबै होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणबाट पूर्ण सहयोगको अपेक्षा गरिएको छ।













