भरतपुर । नेपाली कांग्रेस चितवनका उम्मेदवारहरु छनौटमा पार्टीले अत्यन्त विवेक पुर्याएको चितवन क्षेत्र नं. ३ का कांग्रेस उम्मेदवार टेकप्रसाद गुरुङले बताएका छन् । नेपाली कांग्रेस भरतपुर–१८ को आयोजनामा भएको श्रद्धान्जली सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
कांग्रेस भरतपुर–१८ का पूर्व सचिव रविन अधिकारीको हजुरआमा एवम् कांग्रेस क्रियाशिल सदस्य जगन्नाथ अधिकारीको आमा गंगादेवी अधिकारीको निधन भएको ९औँ दिनको पुण्य तिथीमा श्रद्धान्जली सभा आयोजना गरिएको थियो । श्रद्धान्जली सभामा सहभागी भएका गुरुङले लोकतन्त्रका लागि नेपाली कांग्रेसले लामो संघर्ष गरेको भन्दै नेपालमा अभिव्यक्ति स्वतन्त्रताको लागि पनि कांगेस कै भूमिका उच्च रहेको दाबी गरे।
पञ्चायती तानाशाह सरकारका सिडियोले जयनेपाल भन्यो भने भुटुटु पार्छु भन्दै दुःख दिएको स्मरण गर्दै गुरुङले कांग्रेसले जनतालाई अधिकार दिलाउन अनवरत लागेको बताए। लोकतन्त्रका लागि अधिकारी परिवारको पुख्यौली थलो लमजुङको दुराडाडाँ देखि नै योगदान रहेको उनले बताए ।
कार्यक्रममा तत्कालिन गुञ्जनगर गाविसका उपाध्यक्ष काग्रेस जिल्ला सदस्य अमर तमाङले कांग्रेसको जग बलियो रहेको भन्दै सबैजना मिलेर लाग्ने हो भने कसैले कांग्रेसलाई हल्लाउन नसक्ने बताए । काग्रेस भरतपुर–१८ का सभापति रामकृष्ण पन्डितले पनि वडावासी कांग्रेसीहरु उत्साहित भएको भन्दै निरंकुश पञ्चायतको दबदबामा शिक्षाको ज्योतीसँगै विकास निमार्णमा अधिकारी परिवारको योगदान अतुलनिय रहेको बताए ।
शोकसभामा स्वर्गीय गंगादेवीको नाती शैक्षिक व्यक्तित्व रमेश अधिकारीले पारिवारिक पृष्ठभूमिका बारेमा प्रकाश पारेका थिए ।कांग्रेस भरतपुर–१८ का सचिव रविन्द्र अर्यालले सहजीकरण गरेको कार्यक्रममा पश्चिम चितवनका कांग्रेस नेता तथा कार्यकताको उपस्थिती रहेको थियो ।
दिवंगत गंगादेवीको यही माघ ११ गते ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको २ छोरा, २ छोरी छन् । दिवंगत गंंगादेवीलाई श्रद्धान्जली अपर्ण गर्न सदावहार ताजा तरकारी तथा कृषि सहकारीका प्रतिनिधि, मिलन इङिलस बोडिङ परिवार, चैतन्य आश्रम जेष्ठ नागरिक समूह लगायत विभिन्न संघसस्थाका प्रतिनिधीहरु उनको निवासमा पुगेर श्रद्धान्जली अपर्ण गरे।











