चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सुकमाया देवी तामाङको हत्या गरी लुटपाट गर्ने ५ जनालाई पक्राउ गरेको छ ।
रत्ननगर नगरपालिका–४ बस्ने बर्ष ६३ की सुकमाया देवी तामाङ गएको पुस २६ गते आफ्नै घरको कोठामा हात, खुट्टा र मुखमा कपडाले बाँधिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थायी घर भई हाल जिल्ला चितवन रत्ननगर–१० बस्ने वर्ष ४६ को मोटे र बिजय भन्ने शुक्र बहादुर भोलन, जितपुर सिमरा–२२ चकरी घर भई हाल ललितपुर महानगरपालिका–१० च्यासल बस्ने वर्ष ४२ को सुर्यमान वाईवा, धादिङ थाक्रे गाउँपालिका–५ बस्ने वर्ष ३२ को बुद्धिमान लामा, स्याङ्जा बिरुवा गाउँपालिका–८ पेल्का स्थायी घर भई हाल रत्ननगर–४ सिनेमारोड बस्ने वर्ष ३१ को मिलन भन्ने कौ बहादुर गुरुङ र मकवानपुर थाहा नगरपालिका–१२ घर भई हाल काठमाण्डौ थानकोट बस्ने वर्ष ४७ को हिरा बहादुर स्याङतान रहेका छन् ।
तामाङलाई निजहरुको आपराधिक समूहले नियोजित तवरले निर्ममता पुर्वक नाक, मुख, हात र खुट्टा बाँधेर हत्या गरी धनमाल डाँका गरी लगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा ना २५ प ६९६५ नम्बरको पल्सर मोटरसाईकल र बागमती प्रदेश ०१–००२ ज ७९८५ नम्बरको ट्याक्सी बरामद गरेको उनले बताए ।











