काठमाडौं । जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सृजित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन मोडमा आइपुगेको छ ।
२६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध जेनजी अभियानले भदौ २३ र २४ गतेको प्रदर्शनपछि सरकार नै ढलेपछि देश नयाँ राजनीतिक गन्तव्य उन्मुख भएको हो ।
जेनजी पुस्ताका माग सम्बोधन गर्ने सन्दर्भमा परामर्श पनि सुरु भएको छ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबिच देशमा देखिएको राजनीतिक समस्या समाधान गरी संवाद र सहमतिका माध्यमबाट निकासको यात्रा प्रारम्भ गर्न निरन्तर विमर्श भइरहेको छ । उनीहरूबिच जेनजी पुस्तालाई विश्वासमा लिएर देशलाई निकास दिने दिशातर्फ अघि बढ्ने सन्दर्भमा गहन विमर्श भइरहेको हो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रको निकासका लागि संवाद भइरहेको पुष्टि गरे । प्रधानसेनापति सिग्देलले बुधबार जेनजी मुभमेन्ट अलायन्सका सदस्यसँग संवाद गरेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । सिग्देलले बिहीबार देशले निकास पाउने गरी जेनजी अभियन्तासँग छलफल गर्नेछन् ।
जेनजी अभियन्ताले सेनासँगै आफ्नो समूहमा बृहत् छलफल गरेका छन् । जेनजी अभियन्ताहरू रक्षा बम र युजन राजभण्डारीले ‘देशले निकास पाएको’ बताए । अभियन्ता राजभण्डारीले लेखेका छन्, “सबैलाई बधाई, देशले निकास पायो ।”
यसअघि अभियन्ता बमले सामाजिक सञ्जालमार्फत जेनजी समूहसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका थिए । उनले “राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेक होल्डर हो भनेर स्वयम् प्रधान सेनापतिले भनिसकेपछि जेनजी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामीले त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेनजी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौँ” भनेकी थिइन् ।












