चितवन । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ ।
उनी आज बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् । बिहान ७ बजे उठेर बाथरुम गएका पिया ८ बजे सुत्ने कोठाको भुईमा मृत अवस्थामा भेटिएका थिए । चितवन जिल्ला क्रिकेट संघका सचिव सुरज ज्ञवालीका अनुसार पियालाई सुगरको समस्या थियो।
आमा र भाई भारतमा रहेको र आउने क्रममा रहेकाले पियाको अन्त्येष्टि भोलि गर्ने तयारी गरिएको छ।
२०३४ सालमा जन्मिएका पिया २०८० सालको साउन २३ गते चितवनमा भएको अधिवेशनबाट चितवन क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए। यसअघि सदस्य, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको भूमिकामा पनि कार्यरत रहेका पिया नेपालको क्रिकेटको विकासमा सक्रिय थिए । उनका श्रीमती, छोराछोरी, भाई र आमा छन् ।
चितवन जिल्ला क्रिकेट संघका अध्यक्षको रुपमा पियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तयारी र विभिन्न क्रिकेट प्रतियोगिताहरुको आयोजना गर्दै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुर्याएका छन् ।












