काठमाडौं । संविधानतः स्वतन्त्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ठूला मुद्दामा प्रभावकारी काम गर्न नसकेको सांसदहरूले बताएका छन्।
बुधवार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरूले यस्तो धारणा राखेका हुन्। ठूला भ्रष्टाचारका मुद्दामा राजनीतिक हस्तक्षेपका कारणले गर्दा अख्तियारले प्रभावकारी ढंगले काम गर्न नसकेको उनीहरूको भनाइ छ।
समिति सभापति मायाप्रसाद शर्माले भ्रष्टाचारका ठूला मुद्दामा राजनीतिक हस्तक्षेप हुँदा अख्तियारले प्रभावकारी ढंगले काम गर्न नसकेको बताए। उनले देश विकासको मुख्य बाधकको रूपमा रहेको भ्रष्टाचार, कुशासन, अनियमितता र ढिलासुस्तीका कारण जनताले खोजेको प्रतिफल राज्यले दिन नसकेको बताए।
सभापति शर्माले भने, ‘साना र कर्मचारीको विषयमा त राजनीतिक हिसाबले हस्तक्षेप छैन होला। ठूला भ्रष्टाचारका मुद्दाहरूमा राजनीतिक हस्तक्षेपका कारणले गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसरी प्रभावकारी ढंगले काम बढाउन सकिरहेको छैन कि भन्ने आशंका र मनोविज्ञान छ।’
अख्तियारले मन्त्रालय र सरकारी संस्थाहरूलाई दिएको सुझावको अवस्था कस्तो छ ? भन्दै प्रश्न गरे। नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले बार्गेनिङ गर्न पाइने भएकै कारण मानिसहरूको अख्तियारतर्फ रुचि बढ्दै गएको बताए।
नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले अख्तियारलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने उपायको खोजी गर्नुपर्ने बताए। उनले राजनीतिक प्रभाव र दबाबकै कारण आयोगले अपेक्षाकृत काम गर्न नसकेको बताए।
नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले किन अख्तियार औँला उठाउने ठाउँ बनेको छ ? भन्दै प्रश्न गरे। अख्तियारलाई राजनीतिक हस्तक्षेपबाट पर राख्नुपर्नेमा सांसदहरूको जोड छ।












