चितवन । एस वन होम्स र भी ग्रुपको आयोजनामा भोलि (बिहीबार)देखि नारायणगढमा ‘घर बनाउने मेला’ सुरु हुँदै छ । मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले आज पत्रकार सम्मेलनगरी जानकारी दिएको हो ।
उद्योग वाणिज्य संघ चितवनको परिसरमा वैशाख २५ गतेदेखि २७ गतेसम्म हुने मेलामा घरजग्गा, निर्माण सामाग्री लगायतका गरी ३० वटा स्टल रहेका छन् । घर बेच्न वा किन्न चाहने र नयाँ घर बनाउने योजना बनाएका सेवाग्राहीहरुलाई लक्षित गरी मेलाको आयोजना गरिएको हो । ‘घर बनाउने मेला’ नेपालमै पहिलो पटक आयोजना गरिएको हो ।
तीन दिनसम्म चल्ने मेलामा १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले मेला उद्घाटन गर्ने कार्यक्रम रहेको भी ग्रुपका अध्यक्ष एवम् मेला संयोजक विपिन कँडेलले बताए । उनका अनुसार घर बनाउनुअघि मात्रै होइन, बनाइसकेपछि पनि बाथरुम, विजुली, ढलान रसाउने जस्ता समस्या छ भने पनि मेलाबाट लाभान्वित हुन सकिनेछ ।
‘घर तथा आवास निर्माणलाई गुणस्तरीय तथा सहज बनाउन अहिलेको आवश्यकता अनुसारका सुविधा तथा सामाग्रीहरुबारे जानकारी गराउन सरकारी निकाय र नीजि क्षेत्रको सहकार्यमा चितवनमा पहिलो पटक घर बनाउने मेला आयोजना गरेका हौँ’, उनले भने, ‘घर तथा भवनको नक्सादेखि निर्माण सम्पन्नसम्मका सबै विषयमा अवलोकनकर्ताले परामर्श पाउन सक्नुहुनेछ ।’
घर बनाउन चाहिने आवश्यक सामाग्री, सरकारी मापदण्ड र सुरक्षा सम्बन्धि विषयमा परामर्श दिने तथा घरजग्गा कारोबार एवम् निर्माण तथा निर्माण सामाग्री विक्रेता र सेवाग्राहीलाई एउटै छानामुनि सबै प्रकारको सेवा प्रदान गर्ने मेलाका उद्धेश्य रहेको कँडेलले जानकारी दिए । ‘मेलामा घरजग्गा किनबेच गर्न खरिदकर्ता र विक्रेताबीच भेट गराइने छ । त्यस्तै, सरकारी निकाय, व्यवसायी, विज्ञ र उपभोक्ताबीच परामर्श, अभिमुखिकरण, अन्तरक्रिया गरिनेछ’, उनले भने ।
घर तथा भवन निर्माणमा प्रयोग गरिने प्रविधि, सामाग्री तथा खर्च मितव्ययीताको बारेमा पनि मेलामा सेवाग्राहीलाई जानकारी दिइने छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । त्यस्तै, मेलामा ८२ जना श्रमिकलाई सम्मान पनि गरिने आयोजकले बताएको छ ।












