काठमाडौं । संयुक्त राष्ट्रले भारतले पाकिस्तान प्रशासित काश्मीरमा गरेको मिसाइल हमलाप्रति चिन्ता व्यक्त गरेको छ।
भारतले पाकिस्तानमा आक्रमण गरेको जानकारी सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको हो।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले ‘गुटेरेस नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् ।
उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम संयम राख्न आग्रह गरेका छन्। उनले भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुने बताएका छन्।
यसअघि, ५ मेमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत भारत र पाकिस्तानबीचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको बताएका थिए।
यसैबीच भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन्। उनले घटनालाई दुस्खद भन्दै दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।
‘यो हुन सक्ने अनुमान पहिले नै थियो। उनीहरू धेरै समयदेखि लडिरहेका छन्। म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ’, उनले भने।












