चितवन । नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटी भरतपुरले रक्तदान तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
वैशाख २ गतेदेखि ४ गतेसम्म भएको उक्त कार्यक्रममा रक्तदानको महत्व र रक्तदानका प्रक्रियाबारे सचेतना प्रदान गरिएको आयोजकले जनाएको छ ।
सचेतनाका कार्यक्रम वैशाख २ र ३ गते गरी पाँच वटा शैक्षिक संस्थाहरुमा सञ्चालन गरिएको हो । चितवन एकेडेमी फर टेक्निकल कलेज, ग्लोबल जानकी टेक्निकल कलेज, सप्तगण्डकी बहुमुखी क्याम्पस, मैयादेवी कन्या क्याम्पस र विनायक हेल्थ केयर सिस्टममा सचेतनाका कार्यक्रम गरिएको थियाे । उक्त कार्यक्रममा १८३ जना सहभागी थिए ।
कार्यक्रममा नियमित रक्तदान गर्नुका फाइदा र रक्तदान सम्बन्धि रहेका भ्रमको बारेमा पनि जानकारी गराइएको नेपाल मेडिकल स्टुडेन्ट्स सोसाइटी भरतपुरकी सचिव एवम् कार्यक्रम संयोजक सृजना धरेलले बताइन् ।
त्यस्तै, वैशाख ४ गते भरतपुरको सप्तगण्डकी चोकमा भएको रक्तदान कार्यक्रममा १११ जनाले रक्तदान गरेको धरेलले बताइन् । तीमध्ये ५६ जना नयाँ रक्तदाता अर्थात् पहिलो पटक रक्तदान गरेको पाइएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, प्रदेश रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो भने भरतपुर महानगरपालिका वडा नं १० को कार्यालय र सप्तगण्डकी टोल सुधार संस्थाले सहयोग गरेका थिए ।












