काठमाडौं । २०७२ को भूकम्पअघि भान्साकोठाको निदालभरि स्थानीय जातको काँक्रोको बिउ हुने मण्डन देउपुर–९, काभ्रेपलाञ्चोकका राजनप्रसाद सापकोटा अहिले काँक्रो रोप्नुपर्ने बेला भएपछि बजार जान्छन्।
एउटा काँक्रो काट्दा गाउँभरि बास्ना फैलिने, तीन किलोसम्मको फल्ने काँक्रो अहिले लोपै भएको उनको गुनासो छ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, परम्परागत रूपमा आफ्नै घरमा धेरै किसिमका बिउ आफैंँले जोगाएर राख्ने र नपुग बिउ छिमेकी, आफन्त र साथीभाइकहाँबाट साटासाट गरेर लगाउने चलन हराएको सापकोटाको भनाइ छ। शहरवरपर तथा सुगम क्षेत्रका कृषकले घरमा बिउ राख्नुको सट्टा बजारबाट खरिद गरेर लगाउने चलन बढेपछि बिउ राख्ने चलन हराएको सापकोटा बताउँछन्।
उन्नत जात तथा वर्णशङ्कर (हाइब्रिड) बिउ र प्रविधि विस्तारसँगै घरमा जोगाएर राख्ने परम्परागत बिउको संरक्षणै सङ्कटमा परेको उनले बताए। उहाँ मात्रै होइन, बिउ हराएकोमा दाङ तुलसीपुरका शान्ता शर्मालाई पनि पिरलो परेको छ। कालो धानको बिउ नै पाउन छाडेको र अबको पुस्ताले त्यसको अनुभव गर्न नपाउने उनको चिन्ता छ।
गाउँबाट मानिस क्रमशः शहरमा बसाइँ सर्न थालेपछि रैथाने जातका बिउ क्रमशः लोप हुन शुरु भएको उनको अनुभव छ। सिमेन्टका घर बन्न थालेपछि पनि बिउ जोगाउन कम भएको उनले बताए। वरिष्ठ कृषि प्रसार अधिकृत कुलप्रसाद दवाडीले उन्नत जात र हाइब्रिड बिउको उपलब्धताले उत्पादन वृद्धिमा टेवा पुगे पनि नेपालको हकमा केही अपवादबाहेक बजारमा उपलब्ध हाइब्रिड बिउ आयातित भएकाले रैथाने जात लोप हुने अवस्थामा पुगेको बताए।
बजारबाट बिउ खरिद गरेर लगाउने बढ्दो चलनले एकातिर कृषक बिउमा परनिर्भर बन्दै गइरहेका छन् भने अर्कोतिर रैथाने बिउका साथै बिउ छनोट र भण्डारण गर्ने परम्परागत ज्ञान, सिप र प्रविधि पनि हराएर गइरहेको उनले बताए।
नेपाल सरकारको तथ्याङ्कले पनि बर्सेनी बिउको आयात बढिरहेको र कृषकको खेतबारीबाट रैथाने बिउ क्रमशः लोप हुँदै गएको देखाउँछ। यो क्रम नरोकिए भविष्यमा सहरी क्षेत्रमा मात्र होइन, गाउँघरका कृषकको भान्सामा पनि के पाक्छ भन्ने कुरा बजारले निर्धारण गर्ने उहाँले बताए। सरकारको तथ्याङ्कमा एक वर्षमा दुई अर्ब १८ करोड रुपियाँको बिउ आयात भएको देखिएको छ। बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रले एक वर्षमा सो परिणाममा बिउ आयात हुने उल्लेख गरेको हो।
चितवनमा मनसुली धान विस्तार भएपछि कृषकले ‘दुधराज’ र अछामे मसिनो चामलको भात र आँगापझुत्ते धानको चिउरा लोपै हुने अवस्थामा पुगेको कृषि प्रसार अधिकृत कृष्ण धितालले बताए।











