काठमाडौं । कप्तान किलियन एम्बाप्पेको कीर्तिमान र उत्कृष्ट प्रदर्शनको मद्दतले फ्रान्सले फिफा विश्वकप २०२६ मा रोमाञ्चक जितसहित आफ्नो यात्रा सुरु गरेको छ। न्युजर्सी स्टेडियममा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
खेलमा दुई गोल गर्दै एम्बाप्पे फ्रान्सको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले फ्रान्सका लागि आफ्नो कुल गोल संख्या ५८ पुर्याएका छन्।
यस जितसँगै फ्रान्सले सन् २००२ को विश्वकपमा सेनेगलसँग बेहोरेको ऐतिहासिक हारको बदला समेत लिएको छ।
खेलको सुरुवातमा पिएप थियावको टोली सेनेगलले फ्रान्समाथि कडा दबाब बनाएको थियो। सेनेगलका निकोलस ज्याक्सनको एउटा प्रहार फ्रान्सेली गोलकिपर माइक मेग्ननलाई जिल्याउँदै पोस्टमा ठोक्किएर फर्किएको थियो।
त्यसपछि ज्याक्सनले बललाई जाली चुमाए पनि रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदिए। इस्माइला सारले पनि गोल गर्ने एउटा राम्रो अवसर गुमाएका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्स आक्रामक रूपमा प्रस्तुत भयो। डेजायर डोउको उत्कृष्ट प्रहारसँगै फ्रान्सले लय समात्यो। खेलको ६६औँ मिनेटमा माइकल ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै किलियन एम्बाप्पेले फ्रान्सलाई १–० को अग्रता दिलाए।
यो गोलसँगै उनले ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमान बराबरी गरे। ८२औँ मिनेट वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका ब्राड्ली बारकोलाले फ्रान्सका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए।
सेनेगलको सान्त्वना गोल खेलको अन्तिम समयमा सेनेगलका इब्राहिम म्बायेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए।
एम्बाप्पेको ऐतिहासिक गोल ९ं६औँ मिनेटमा गरेका थिए। यो गोलसँगै ५८ गोल पुर्याएर उनी फ्रान्सका सर्वकालीन महान् गोलकर्ता बने।
आफ्नो नाम स्वर्ण अक्षरले लेखाइसकेका एम्बाप्पेको अबको नजर मिरोस्लाभ क्लोजको विश्वकप इतिहासकै सर्वाधिक १६ गोलको कीर्तिमानमा हुनेछ।
विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या १४ पुगिसकेको छ।











