काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। बयान र थुनछेक बहसपछि विशेष अदालतले बुधबार उनीहरूलाई कारागार चलानको आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, नारायणप्रसाद कोइराला र विदुर कोइरालाको इजलासले प्रमाण हेरेर थुनामा पठाउनुपर्ने आदेश गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले गत बिहीबार उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । भट्टविरुद्ध २६ तथा अग्रवालविरुद्ध २५ अर्ब रुपैयाँको बिगो छ।
बिमा, धितोपत्र तथा बैंकिङ कसुरमार्फत आर्जन गरेको सम्पत्ति उनीहरूले शुद्धीकरण गरेको अभियोग छ। जिल्ला अदालतमा बिमा र धितोसम्बन्धी तथा उच्च अदालतमा बैंकिङ कसुर मुद्दा दायर भइसकेको छ। सत्ताको आडमा उनीहरूले अबौँको वित्तीय अपचलन गरेको सरकार विभिन्न निकायको अनुसन्धानबाट खुलेको छ । उनीहरूको अन्य कारोबारमाथि सम्पत्ति शुद्धीकरणले थप अनुसन्धान गरिरहेको छ।











