भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन यहि असार ७, ८ र ९ गते चितवनको भरतपुरमा हुँदै छ ।
रास्वपाको महाधिवेशनलाई लक्षित गरी होटल व्यवसायी संघ चितवनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिने घोषणा गरेको छ।
महाधिवेशनमा सहभागी हुने अतिथि, प्रतिनिधि तथा पर्यवेक्षकहरूका लागि संघले विशेष सहुलियतको घोषणा गरेको हो। आज बसेको संघको कार्यसमिति बैठकले भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका भित्रका होटलहरूमा आवासमा २५ प्रतिशत र खाना तथा खाजामा १० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरेको संघका अध्यक्ष ऋषिकेश अर्यालले जानकारी दिए ।
महाधिवेशनमा आउने पाहुनाहरूको सहज व्यवस्थापनका लागि संघले महाधिवेशन स्थलमै एउटा ‘हेल्प डेस्क’ सञ्चालन गर्ने प्रस्ताव समेत गरेको छ। साथै, पाहुनाहरूले पाउने सेवा र सुविधाको उचित व्यवस्थापन एवं अनुगमनका लागि एउटा छुट्टै अनुगमन समिति समेत गठन गरी परिचालन गरिने पत्रमा उल्लेख छ।
देशको तेस्रो पर्यटकीय गन्तव्य हुनुका साथै रास्वपा सभापतिको आफ्नै निर्वाचन क्षेत्र समेत रहेकाले चितवन महाधिवेशनका लागि सबैभन्दा उपयुक्त स्थल रहेको संघको बताएको छ। यातायात, आवास र खानपानको पर्याप्त सुविधा भएकाले भरतपुरमा महाधिवेशनका खुल्ला तथा बन्द सत्रहरू सफलतापूर्वक सम्पन्न गर्न सकिने विश्वास संघले व्यक्त गरेको छ।
रास्वपाले पनि महाधिवेशनको उद्घाटन सत्र गेष्ट हाउस चौरमा र बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्न लागेको छ ।











