भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगास्थित मुग्लिङ–नारायणगढ सडक खण्डमा म्याजिक र स्कार्पियो एक आपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३–०१–०२२ च १७५८ नम्बरको स्कार्पियो एकापसमा ठोक्किँदा दुवै सवारी साधनमा सवार यात्रुहरू घाइते भएका हुन्।
दुर्घटनामा म्याजिकमा सवार नवलपरासी गैंडाकोट नगरपालिका–४ बस्ने ४९ वर्षीया गौरी लामिछाने, सोही ठाउँकी २८ वर्षीया मनिसा आले, उनका २० महिनाका छोरा पिन्स आले, चितवन भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीया सिता दानि, इच्छाकामना गाउँपालिका–६ बस्ने २४ वर्षीया रचना गुरुङ र ५३ वर्षीय कान्छा दागि घाइते भएका छन्। यस्तै, स्कार्पियोमा सवार सर्लाही हरिवन नगरपालिका–८ बस्ने ४५ वर्षीया कविता अग्रवाल र उनका श्रीमान ५३ वर्षीय शषि भसाल अग्रवाल पनि घाइते भएका छन्।
घाइते सबैको हाल भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले म्याजिक चालक उदयपुर चौदण्डीगढी नगरपालिका–४ बस्ने ३९ वर्षीय अशोक परियार र स्कार्पियो चालक सर्लाही हरिवन नगरपालिका–२ बस्ने ३४ वर्षीय अशोक कुमार महत कैडीलाई नियन्त्रणमा लिएको छ। दुवै चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











