काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले बुधबार सार्वजनिक गरेको आव २०८१/८२ को आठ महिनाको तथ्याङ्क अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाहमा ९.४ प्रतिशतले वृद्धि भएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ, अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई सात अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रुपियाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख १७ हजार ४०३ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः दुई लाख ८५ हजार ३५२ र एक लाख ८२ हजार ७८३ थियो ।
समीक्षा अवधिमा चालु खाता करिब दुई खर्बले बचतमा रहेको छ । चालु आवको आठ महिनामा चालु खाता एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६७ अर्ब ४५ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ३३ करोडले बचतमा रहेको छ ।












