भरतपुर । योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा भोलि (शनिबार) एक हजार भन्दा बढी कन्याको सामुहिक पुजन हुँदै छ ।
नौ वर्ष मुनिका एक हजार आठ कन्याको पुजन गर्ने भनिएकामा शुक्रबारसम्म एक हजार तीन सय जनाले नाम टिपाएको महायज्ञका मुलकर्ता एवम् संयोजक प्रेमनीधि भारद्धाजले जानकारी दिए ।
उनका अनुसार शनिबार बिहान साढे ७ बजेदेखि कन्या पुजन सुरु हुनेछ । ‘यतिधेरै संख्यामा कन्याको सामुहिक पुजन हुन लागेको यो पहिलो पटक हो’, उनले भने, ‘प्राचिन वागीश्वरी माताको प्रारंगणमा हुने यो कार्यक्रम चितवनको अहिलेसम्मकै उत्कृष्ट धार्मिक कार्यक्रम हो ।’
गत वैशाख १७ गतेदेखि श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ सुरु भएको थियो । ६० दिनसम्म चल्ने महायज्ञ असार १४ गते सम्पन्न हुँदैछ । असार १४ गते महायज्ञको पूर्ण आहुति हुने भारद्धाजले बताए ।
राष्ट्रगुरू योगी नरहरिनाथको संकल्पमा भएको महायज्ञमा बिजमन्त्रद्वारा सवा करोड पटक हवन भइरहेको छ ।
राष्ट्र शान्ति र विश्व शान्तिको कामना गर्दै महायज्ञ गरिएको हो । महायज्ञमा असार ८ गते पाँचसरे सवा करोड दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । महायज्ञ सकिन नौ दिन मात्रै बाँकी रहँदा महायज्ञ दर्शन गर्न आउने भक्तजनको संख्या अझै बढ्दै गएको छ ।











