काठमाडौँ । आज (मंगलबार) खण्डग्रास सूर्यग्रहण लाग्दै छ। अपराह्न ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु हुने र साँझ ५ बजेर २४ मिनेटमा सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार सूर्यास्त ५ः२४ बजे सूर्यास्त हुने भएकाले नेपालमा करिब ३२ मिनेटग्रहण देखिनेछ। तर ग्रहणले साँझ ६ः४५ बजेतिर मात्र छाड्ने उनले बताए।
शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको उनले जानकारी दिए ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने गौतमले बताए। सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४ः ५२ बजेदेखि भोजन गर्नु हुँदैन ।
ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।











