भरतपुर । चितवनमा तेल ट्याङ्करको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका वडा नम्बर २ गढ्यौलीमा सोमबार राति साढे ८ बजेतिर लोथरबाट भण्डारातर्फ आउँदै गरेको ना ६ ख ७६०४ नम्बरको लोड तेल ट्याङ्करले पैदल यात्री स्थानीय ६० वर्षीय शंकर बहादुर प्रजालाई ठक्कर दिएको थियो ।
ट्याङ्करको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका प्रजालाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले राति ८:४८ बजे मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्र भूषण यादवका अनुसार ठक्कर दिने तेल ट्याङ्कर र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ का ३८ वर्षीय चालक रबिन लामालाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।












