काठमाडौं । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलबाट अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका विदेशी नागरिकहरू ‘भिजिट भिसा’ मा नेपाल आएर भिसाको उद्देश्य विपरीत शंकास्पद रूपमा बसिरहेका थिए। उनीहरूले काठमाडौँ महानगरपालिका वडा नं. १६ पकनाजोलस्थित ‘होटल एसीई’ को चौथो, पाँचौँ र छैटौँ तल्लाका कोठाहरू भाडामा लिई संगठित रूपमा अवैध धन्दा चलाउँदै आएका थिए।
अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी र ब्ल्याकमेलिङ गर्ने गरेको पाइएको छ। उनीहरूले विदेशी मोडल तथा युवतीहरूको नाममा नक्कली (फेक) फेसबुक अकाउन्टहरू बनाउने गरेका थिए। उक्त नक्कली अकाउन्टहरूका माध्यमबाट विशेष गरी बंगलादेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गर्ने र पछि विभिन्न बहानामा ब्ल्याकमेल गरी मोटो रकम माग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
विशेष गोप्य सूचनाका आधारमा प्रहरी टोलीले जेठ १५ गते उक्त होटलमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा २५ वर्षीय एमडी मजिदुल इस्लाम रेडोय, २२ वर्षीय सफिउल इस्लाम, २२ वर्षीय अपोन चन्दा साहा, २६ वर्षीय अब्दुल्लाह अल जोबाएर, २६ वर्षीय अबुल हसनाई लगायत १५ जना बंगलादेशी नागरिक रहेका छन्।
भिसाको उल्लंघन तथा अनलाइन ठगी र ब्ल्याकमेलिङ जस्ता अवैध गतिविधिमा संलग्न पाइएकाले पक्राउ परेका सबै बंगलादेशी नागरिकहरूलाई अध्यागमन ऐन अन्तर्गत थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको प्रहरीले जनाएको छ। नेपाललाई केन्द्र बनाएर विदेशी नागरिकमाथि हुने यस्ता साइबर अपराधका घटनाप्रति प्रहरीले उच्च सतर्कता अपनाएको छ।











