काठमाडौँ । आज (मंगलबार) खण्डग्रास सूर्यग्रहण लाग्दै छ। अपराह्न ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु हुने र साँझ ५ बजेर २४ मिनेटमा सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार सूर्यास्त ५ः२४ बजे सूर्यास्त हुने भएकाले नेपालमा करिब ३२ मिनेटग्रहण देखिनेछ। तर ग्रहणले साँझ ६ः४५ बजेतिर मात्र छाड्ने उनले बताए।
खगोलविद् डा जयन्त आचार्यका अनुसार यो ग्रहण नेपालका सबै भूभाग विशेषगरी पूर्वी भागबाट प्रष्ट देख्न सकिने छ। यो ग्रहण नेपाललगायत भारत, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, मध्य एसिया, युरोप, उत्तर अफ्रिका, मंगोलिया, सिरिया र नर्वेलगायत देशबाट देख्न सकिने आचार्यले बताए।
खगोलविद् आचार्यले आँखाको ज्योतिमा गम्भीर असर पर्नसक्ने भएकाले नांगो आँखाले ग्रहण नहेर्न सुझाव दिए। ‘सूर्य ग्रहणविशेष किसिमको यन्त्रबाट मात्र हेर्नुपर्छ’ उनले भने, ‘विशेष किसिमको चस्मा, टेलिस्कोप, बाइनाकुलर प्रयोग गरेर ग्रहण हेर्न सकिन्छ।’
खण्डग्रास ग्रहण
सूर्य र पृथ्वीको बीचमा पर्दा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण हुन्छ। सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास र आंशिक छेकेको अवस्थालाई खण्डग्रास भनिन्छ।
खण्डग्रास ग्रहण समय–समयमा परिरहन्छ। खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछि मात्र लाग्ने खगोलशास्त्री बताउँछन्।
तपाईँ ज्योतिषशास्त्रको फलादेशमा विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने ग्रहणले कुन राशिलाई कस्तो फल दिन्छ भन्ने बताइएको हुन्छ। पञ्चांग निर्णायक समितिले मान्यता दिएको पात्रोमा कुन राशिलाई मंगलबारको सूर्यग्रहणले कस्तो फल दिन्छ भन्ने उल्लेख छ।
पञ्चांगका अनुसार यो ग्रहण वृष, सिंह, धनु र मकर राशिलाई शुभ छ। मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ र मीन राशिलाई अशुभ हुने बताइएको छ।
मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता र कर्कट राशिकालाई व्यथा फल बताइएको छ। सिंह राशिकालाई श्रीप्राप्ति, कन्या राशिवालालाई क्षति, तुला राशिकालाई घात, वृश्चिक राशिकालाई व्यय र धनु राशिलाई लाभ फल उल्लेख छ।
यस्तै मकर राशिवालालाई सुख, कुम्भ राशिकालाई माननाश र मीन राशिवालालाई कष्टको योग छ।
थाहा खबरबाट











