चितवन । उज्यालो पर्व तिहार अन्तर्गत अहिले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ। लक्ष्मीपूजाको अवसरमा घर आगनमा लक्ष्मीको पूजा गरी दियो वा मैनबत्ती बालेर झिलिमिली बनाउने प्रचलन छ ।
पछिल्लो समय रंगोली बनाउने प्रवृत्ति पनि बढेको छ । त्यस्तै घरहरुमा टाँगिएका विद्युतीय झालरका बत्तिले लक्ष्मीपूजाको रौनकता बढाएको छ । तिथि घटबढले कुकुर तिहारकै दिन लक्ष्मी पूजा परेको हो । साँझ दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा–आराधना गरिएको छ । साँझ ५ बजेर ४ मिनेटपछि मात्र औँसी तिथि लागेको हो।

सफासुघ्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घर आँगन, कोठाचोटा सफासुग्घर पारी लिपपोत गरिन्छ । यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन छ। साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ ।

दीप–कलश–गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ। विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धन–धान्य र समृद्धि प्राप्त हुने जनविश्वस छ । पूजाकोठामा लक्ष्मीपूजा गरेपछि कन्याहरूले भैलो गीत गाउने चलन छ ।

घरपतिको भलो होस् भन्ने कामना गरेर भैलो गाउने चलन चलेको संस्कृतिविद् बताउँछन् । भैलिनीलाई सेलरोटी, फलफूल र दक्षिणा दिई विदा गर्ने प्रचलन छ । लक्ष्मीपूजामा काठमाडौं झिलिमिली बनेको छ।













