चितवन । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको विषयमा मिडिया अभिमुखिकरण कार्यक्रम गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वस्थ, निश्पक्ष र विश्वसनिय बनाउन आयोगले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा सहभागी पत्रकारहरुलाई आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिव एवम् सहायक प्रवक्ता कमल भट्टराई र राससका प्रतिनिधि श्यामप्रसाद रिमालले प्रशिक्षण दिएका थिए ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले चितवनका पत्रकारलाई प्रशिक्षण दिएको हो । निर्वाचनलाई स्वच्छ, निश्पक्ष र विश्वसनिय बनाउन आयोगले निर्वाचन आचारसंहिता २०७९ जारी पनि गरेको छ । आचारसंहिता असोज १२ गतेदेखि लागु भइसकेको छ ।
निर्वाचन आयोगले आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै आयोगका सचिव दुवाडीले आचारसंहिताको अधिनमा रहेर रिपोर्टिङ गर्न आग्रह गरे । ‘निर्वाचनलाई निश्पक्ष र विश्वसनिय बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ’, उनी भन्छन्, ‘अरुबेला जस्तै निर्वाचनमा पनि पूर्ण प्रेस स्वतन्त्रता कायम राख्न आयोग तयार छ । मतदाताको गोपनियतामा असर नपुग्ने गरी रिपोर्टिङ गर्ने व्यवस्था मिलाएका छौँ ।’
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा, पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले बोलेका थिए । निर्वाचन कार्यालय चितवनको समन्वयमा उक्त कार्यक्रम भएको हो ।











