चितवन । भरतपुरमा जारी नवौं नेपाल फर्मा एक्स्पो २०२४ मा दर्शकको उत्साहजनक सहभागीता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोको दोस्रो दिन शनिबार दर्शकहरुको भिड लागेको हो ।
नेपाल औषधि उत्पादक संघ (एपोन)का उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार एक्स्पोमा सोचेभन्दा राम्रो दर्शकको उपस्थिति रहेको छ । उनले भने “हाम्रो अपेक्षाभन्दा धेरै दर्शक एक्स्पोमा आउनु भएको छ । चितवन सहित बाहिरी जिल्लाबाट समेत दर्शक आईरहनु भएको छ ।” आफूहरुले तीन दिनको अवधिमा २५ हजारले अवलोकन गर्ने अपेक्षा गरेकोमा यो संख्या बढ्ने उनको अनुमान छ ।
एक्स्पो अवलोकन गर्न आएका नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्की आम सर्वसाधारण पनि एक्स्पोमा आउनु पर्ने बताउँछन् । उनले भने, “आफू बिरामी हुँदा कस्तो औषधि खाईरहेका छौं ? नेपाली औषधिको गुणस्तर कस्तो रहेछ ? औषधि कसरी बन्दो रहेछ ? औषधि बनाउन के के प्रविधिको प्रयोग हुँदो रहेछ ? भन्ने कुरा यहाँ आएपछि प्रष्ट हुन्छ ।”
औषधि कसरी सुरक्षित र रोगलाई निको पार्ने बनाईन्छ भन्ने कुरा एक्स्पोबाट प्रष्ट हुने भन्दै उनले “स्वदेशी औषधि उद्योगले विगत ५५ वर्षदेखि सेवा गरिरहनु भएको छ । उहाँहरुको मनोबल बढाउन पनि एक्स्पो अवलोकन गर्नुपर्छ ।”
विदेशी औषधि मात्रै गुणस्तरीय हुन्छन्, नेपाली गुणस्तरीय हुँदैन भन्ने ठूलो भ्रम सर्वसाधारणमा रहेको भन्दै उनले भने “त्यो भ्रम चिर्नलाई पनि एक्स्पोले मद्दत गर्छ ।” नेपालमा साधारण औषधिदेखि क्यान्सर लगायत जटिल रोगसम्मका औषधि बनेको भन्दै विश्व बजार र नेपाली उत्पादनमा फरक छ कि छैन भन्ने सुनिश्चित गर्न पनि एक्स्पो अवलोकन गर्नुपर्ने उनको भनाई छ ।
एक्स्पो अवलोकनपछि उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम आफू औषधिका विषयमा जानकार नभएपनि औषधि उद्योगका लागि आवश्यक पर्ने विचारदेखि लिएर व्यवहारसम्म र उद्योगदेखि उत्पादन हुँदै बजारीकरणसम्मको ज्ञान यहाँबाट पाईएको बताए । उनले औषधि र औषधिजन्य उद्योग व्यवसायमा काम गर्ने सोच भएकाहरुलाई पनि एक्स्पो फलदायी हुने बताए ।
एक्स्पोमा विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरुको पनि बाक्लो उपस्थिति रहेको छ । मेडिकल शिक्षासँग विज्ञानका विद्यर्थीहरुले एक्स्पो रुचिपूर्वक अवलोकन गरिरहेका थिए । कलेज तथा विद्यालयहरुले विद्यालयकै बसमा विद्यार्थी अवलोकनका लागि ल्याईरहेका छन् ।
भोलिसम्म सञ्चालन हुने एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले औषधि उद्योगका लागि आवश्यक पर्ने मेसिन, उपकरण, प्रयोगशाला, कच्चापदार्थ, प्याकेजिङ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएको छ ।
एक्स्पोका संयोजक प्रभात रुङ्गटाले यहाँ अवलोकन गरेर फर्किएका सर्वसाधारण नेपाली औषधिप्रति विश्वस्त भएर फर्किएको बताए । नेपाली औषधि उद्योगले पनि विदेशी उद्योग सरह कच्चा पदार्थ, मेसिन र उपकरण प्रयोग गर्दा रहेछन् भन्ने कुरा छर्लङ भएको धेरै प्रतिक्रिया पाएको उनको भनाई छ ।












