काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ‘नन् ग्रेडिङ’ मा परेका विद्यार्थीहरूका लागि हिजाे सोमबारदेखि ग्रेड वृद्धि (माैका) परीक्षा देशभर एकैसाथ सुरु भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो परीक्षा आगामी असार ९ गतेसम्म चल्नेछ। परीक्षाको पहिलो दिन हिजाे अनिवार्य नेपाली र अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ भने मंगलबार पनि बाँकी समूहका लागि नेपाली र अंग्रेजीकै परीक्षा हुने तालिका छ। यसपटकको मौका परीक्षामा देशभरबाट कुल १ लाख ४६ हजार विद्यार्थी सहभागी भइरहेका छन्।
गत चैतमा सञ्चालित एसइई परीक्षाको नतिजा सरकारले इतिहासमै पहिलो पटक निकै छिटो अर्थात् वैशाख २८ गते नै सार्वजनिक गरेको थियो। ५ लाखभन्दा बढी विद्यार्थी सहभागी भएको उक्त परीक्षामा करिब ६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। छिटो नतिजा प्रकाशन गरेर सरकारले प्रशंसा पाए पनि उत्तरपुस्तिका परीक्षणमा भने गम्भीर लापरबाही देखिएको छ।
पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिएका विद्यार्थीहरूको नतिजा फेरबदल हुँदा ३ जिपिए ल्याउनेहरूको समेत ४ जिपिएसम्म पुगेको पाइएको छ। अनुभवहीन शिक्षकहरूबाट उत्तरपुस्तिका परीक्षण गराउँदा र प्राप्तांक जोड्न त्रुटि हुँदा यस्तो समस्या आएको परीक्षा केन्द्रले स्वीकार गरेको छ।
मुख्य परीक्षाको नतिजा जस्तै मौका परीक्षाको नतिजा पनि छिट्टै सार्वजनिक हुनेमा भने यसपटक अन्योल देखिएको छ। बोर्डका उपनियन्त्रक तारानाथ निरौलाका अनुसार बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले गरिरहेको कर्मचारी कटौतीका कारण बोर्डमा जनशक्तिको अभाव हुने देखिएको छ। कर्मचारी संख्या घटेकाले काममा केही ढिलाइ हुन सक्ने संकेत गर्दै उनले अहिले नै नतिजा प्रकाशनको निश्चित मिति तोक्न नसकिने बताए। यद्यपि, विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै बोर्डले सकेसम्म छिटो काम सक्ने प्रयास गर्ने जानकारी दिएको छ।











