चितवन । चितवन ३ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उमेदवारी दिएका दिनेश कोइरालाले अंश, वंश र अर्थको भरमा राजनीति चल्न नदिइने बताएका छन् । कोइरालाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी ३० वर्षे राजनीतिक यात्रालाई दाउमा राखेर विकृत प्रथा विरुद्ध स्वतन्त्र उमेदवारी दिएको बताए ।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा भोजराज अधिकारीविरुद्ध बागी उमेदवारी दिएका कोइरालालाई कांग्रेसले पाँच वर्षका लागि निलम्बन गरिसकेको छ । कांग्रेसको १४औँ महाधिवेशनबाट लोकप्रिय मतका साथ खुला केन्द्रिय सदस्यमा निर्वाचित कोइराला संस्थापन इतर समूहका नेता हुन् । बोल्न सुरु गरेपछि भावुक बनेका उनले आफ्नो उमेदवारी बागी र विद्रोही भन्दा धेरै माथि भएको बताएका छन् ।
गठबन्धन देश विकासको निम्ति नभई सिमित परिवारका लागि मात्रै भएकोले आफु त्यो बाटोमा जान नसकेको उनले बताए । ‘४२ वर्षको उमेरमा आमा गुमाउँदा पनि त्यति रोएको थिइन, जति अहिले रुँदै छु’, उनले भने, ‘पार्टीभित्र बोलेका कुरा कसैले नसुनेपछि पिंजडाको सुगा र अन्य पार्टीको दास बन्न नसकेर यो निर्णय गर्न बाध्य भएको छु ।’
एक सांसदको लागी मात्र उमेदवारी नदिएको भन्दै उनले लोकतन्त्रको खोल ओढेको राणाशासन अब चल्न नदिने बताए । अंश, वंश र अर्थको आधारमा राजनीति चल्न नदिने, गिरोहलाई देश चलाउन नदिने र पारिवारिक शासन चल्न नदिने आफ्ना मूख्य एजेण्डा रहेको कोइरालाले स्पष्ट पारेका छन् ।
अहिलेको परिवेशमा काँग्रेस र एमाले देशको वर्तमान र भविष्य भएको उनले दावी गरे । यी दुई पार्टीलाई सहि बाटोमा नहिडाई देश ठीक बाटोमा हिँड्न नसक्ने भन्दै उनले राष्ट्रिय राजनीतिमा हस्तक्षेप गरेर शान्तिपूर्ण तथा रचनात्मक क्रान्ति गर्न पार्टीलाई सुधानुपर्ने बताए ।
‘सिमित परिवारका लागि मात्र लोकतन्त्र हुने, बाँकीले दास बन्नुपर्ने विकृत प्रथा कुनै हालतमा मान्य हुँदैन’, उनले भने । राष्ट्रिय राजनीतिमा चितवनले हस्तक्षेप गर्ने उनको दावी छ । ‘हिजो हजारौँ मान्छे मारेर क्रान्ति गरेको भन्दै भ्रम फैलाउनेहरुले परिवार पोसे, देश लुटे, देश र समाज भत्काए, जनतालाई रुवाए । अव सांसदलाई विकृति र लुटको अखडा बनाउन दिइने छैन’, उनले भने, ‘यसको अगुवाई चितवन क्षेत्र नं. ३ का जनताले गर्नेछन् ।’











