चितवन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने दिन नजिकिँदै गएको छ । निर्वाचन आचारसंहिता कार्यान्वयनको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले सरोकारवालासँग अन्तरक्रिया गरेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार उमेदवार वा दलले कार्तिक १७ गतेपछि मात्रै जुलुस, आमसभा र कोणसभा गर्न पाउने बताएका छन् ।
निर्वाचन आयोगले उमेदवारले निर्वाचनमा गर्न पाउने खर्चको सिमा तोकेको । चितवन क्षेत्र नं १ र ३ का प्रतिनिधि सभा सदस्यका उमेदवारले बढीमा ३१ लाख र क्षेत्र नं २ का उमेदवारले बढीमा २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने थापाले बताए ।
क्षेत्र नं १ र ३ का प्रदेश सभाका उमेदवारले बढीमा १७ लाख रुपैयाँ खर्च गर्न पाउँछन् । क्षेत्र नं २ (क)का उमेदवारले बढीमा १९ लाख र २ (ख)का उमेदवारले बढीमा १५ लाख रुपैयाँ खर्च पाउने आचारसंहितामा उल्लेख छ । तोकिएको भन्दा बढी खर्च गर्ने उमेदवारलाई आयोगले कारबाही गर्ने थापाले बताए ।
आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई एक लाखसम्म जरिवाना र उमेदवारी खारेजीसम्म गर्न सकिन्छ । यस्तै, निर्वाचन कसुर तथा सजाए ऐन २०७३ अनुसार गम्भीर प्रकृतिको कसुर गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।











