चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले व्यवहारिक शिक्षालाई जोड दिएको बताएकी छन् ।
भरतपुर १६ मा रहेको दुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले महानगरले विद्यार्थीलाई विद्यालय जाउँ जाउँ लाग्ने वातावरण निर्माणको कार्य गरिरहेको उल्लेख गरिन् ।
महानगरपालिका प्रमुख दाहालले घोकन्ते विद्याले मात्र विद्यार्थी ज्ञान नपुग्ने भएकाले हरेक शुक्रबार बिना किताब विद्यालय जाने नीति नियम बनाई कार्यान्वनमा कार्यान्वयन ल्याएको जानकारी दिइन् ।
शुक्रबारको दिन विद्यार्थीले अतिरिक्त क्रियाकलाप, विद्यालय सरसफाई, संस्कृतिक प्रतियोगिता, वादविवाद प्रतियोगितालगायतका क्रियाकलाप गरी व्यवहारिक ज्ञान आर्जन गर्ने बताइन् । भरतपुर महानगरको व्यवहारिक शिक्षासहित प्राविधिक शिक्षा रहेको प्रमुख दाहालले सो अवसरमा बताइन् ।
विस २०१७ सालमा आँपको रुख मुनिबाट अध्ययनको सुरुवात गरेको विद्यालय भरतपुरको नमुना सामुदायिक विद्यालय हो । विद्यालय एक हजार १० विद्यार्थी अध्ययन गर्ने गर्दछन् । पश्चिम चितवनमा नमुना विद्यालयका रुपमा स्थापित यस विद्यालयले वार्षिकोत्सवको अवसरमा प्रमुख दाहालले गणित प्रयोगशालाको पनि उद्घाटन गरिन् ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा न १६ का अध्यक्ष अमृतराज हमाल, वडा न १७ का वडा अध्यक्ष ललितमान तामाङ, कार्यपालिका सदस्य गोपाल दराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान पुराउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर हमालको अध्यक्षतामा भएको हो ।












