चितवन । चितवनका दाना उद्योगी तथा व्यवसायीलाई कुखुराको दानाजन्य पदार्थमा लागु भएको नयाँ मापदण्ड बारे प्रशिक्षण दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिवार प्रशिक्षण दिएको हो ।
कुखुराको दाना उत्पादनमा मंसिर १५ गतेदेखि नयाँ मापदण्ड लागु भएको छ । दानामा ढुसी उत्पन्न भएपछि विकास हुने अफला टक्सिन (एक किसिमको विष)को मात्रा २८ पीपीएम भन्दा बढी हुन नहुने र एन्टिवायोटिक्स प्रयोग गर्न नहुने व्यवस्था नयाँ मापदण्डमा छ ।
कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ज्योत्सना श्रेष्ठ, किशोर केसी, खाद्य अनुसन्धान अधिकृत शिव भण्डारी र नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
दाना उद्योगी तथा व्यवसायीले विदेशबाट आउने कच्चा पदार्थको सुक्ष्म विश्लेषण नभएको र अत्याधुनिक प्रयोगशालाको अभावका कारण दानामा स्वच्छता कायम राख्न कठिन हुने गरेको बताएका थिए ।
विभागका महानिर्देशक डा मतिना वैद्य जोशीको अध्यक्षतामा भएको कार्यक्रममा ३५ जना उद्योगी तथा व्यवसायी सहभागी थिए । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।













