काठमाडौं। आईसीसी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध भारतले १६० रनको फराकिलो जित निकालेको छ।
बैंगलोरको एम चिन्नस्वामी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर नेदरल्यान्ड्स सामु ४ सय १० रनको विशाल लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ४७ दशमलव ५ ओभरमा २५० रन बनाउँदा सबै विकेट गुमायो। नेदरल्यान्ड्सका तेजा निदामानुरु अर्धशत प्रहार गरे। उनले ३९ बलमा ५४ रन जोडे। साइब्रान्ड एन्जलब्रेच्टले ४५ रन जोडे।
बलिङतर्फ भारतका जसप्रित बुम्रहा, मोहम्मेद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले समान दुई–दुई विकेट लिए भने विराट कोहली र रोहित शर्माले समान एक–एक विकेट लिए।
त्यसअधि पहिलो विकेटका लागि कप्तान रोहित शर्मा र सुभमन गीलले ७१ बलमा १ सय रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। रोहित ६१ रन र गिल ५१ रनमा आउट भए।
विराट कोहली ५१ रन बनाएर रोइलोफ भ्यान डेर मर्वेको सिकार भए। चौंथौ विकेटका लागि श्रेयस आय्यर र के एल राहुलले १ सय २८ बलमा २ सय ८ रनको साझेदारी गरे। ६२ बलमा शतक पूरा गरेका राहुल भारतका लागि विश्वकपमा सर्वाधिक छिटो शतक बनाउने ब्याटर बने। उनी १ सय २ रनमा आउट भए। श्रेयस १ सय २८ रनमा नट आउट रहे। विश्वकपमा उनको पहिलो शतक हो। विश्वकप क्रिकेटमा टप अर्डरका पाँच ब्याट्सम्यानले ५० रन माथि बनाएको यो पहिलो पटक हो।
नेदरल्यान्ड्सका बास डे लीडेले २ तथा पोल भ्यान मिकरेन, मर्वेले १९१ विकेट लिए। समूह चरणमा लगातार ९ खेलमा जित निकालेको भारत अपराजित रहँदै सेमिफाइनलमा पुग्यो।