भरतपुर । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल जाने सोचमा थिए । पढाइसँगै राम्रो आम्दानी हुने आशामा इजरायलको सपना देख्दै आएका मेहता इजरायल घटनापछि भने हच्किएका छन् ।
पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल पुगेका अग्रजसहितका साथी गुमाउनुपर्दा अमनको मन मात्रै चुँडिएको छैन, वर्षौं देखिको उनको सपनासमेत तुहिएको छ । पढ्दापढ्दै इजरायल गएका साथीहरूले आतंकवादी आक्रमणमा ज्यान गुमाउनुपरेको घटनापश्चात भने अमनले सोच बदलेका छन् । सपना त्यागेका छन् । विदेश नजाने निधोमा आफूलाई पुर्याएका छन् ।
उनी भन्छन्, ‘चाहेको भए म पनि इजरायल पुगेको हुने थिएँ । साथीभाइ जाँदा मैले स्थानीयस्तरमै अनुसन्धान गर्छु र सकेर मात्र जान्छु भनी विदेश जाने समयलाई पछि सारेको थिए । के हुन्थ्यो हुँदैन थियो कसलाई के थाहा रुु इजरायल घटनापछि मन चुँडिएको बताउने अमन अब विदेश जाने आफ्नो सपना सपनामै सीमित भएको बताए । उनी भन्छन्, ‘अब स्वदेशमै खेतीपाती गर्नेछु । रामपुरमा सिकेको ज्ञानलाई गाउँघरमै व्यवहारिकतामा उतार्दै स्वदेशमै श्रम बगाउँछु । गाउँमै बसेर आर्थिक उपार्जनको बाटो खोज्नेछु । ’
हुन त हरिनगर ३ गौतमपुर घर भएका अमन मेहताले कृषि विज्ञान अध्ययन थाल्दै गर्दा खेतीबाली लगाउन थालिसकेका थिए । त्यसबेला अनुसन्धान तथा सिकाइका रूपमा अघि बढाएको उक्त कार्यलाई अब भने उनी व्यवसायिक खेतीका रूपमा अंगाल्ने अठोटसाथ अघि बढेका छन् । गाउँमै खोलेको एलिसा कृषि फर्मलाई दीर्घकालीन रूपमा अघि बढाउने सोचमा उनी पुगेका छन् । घरमै खोलिएको कृषि फर्मलाई अमनका बुबा रामेश्वर मेहतासहित सिङ्गो परिवारले साथ दिएको छ । पछिल्लो घटनाक्रम पश्चात त अझ छोरो घरमै बसोस् र गाउँघरमै काम गरेर कमाओस् भन्नेमा पुगेको छ, अमनको परिवार ।
अमनले कृषि फर्ममा यतिबेला सयपत्री फूल फुलाएका छन् । ड्रागन फल फलाएका छन् । पाँच कट्ठा क्षेत्रफलमा ड्रागन फलसहित सयपत्री लगाएका अमन यही कृषि पेशालाई अघि बढाउने तयारीमा पुगेका छन् । आफू अध्ययनकै क्रममा रहेको र विदेशिने सोचमा रहँदा थोरै जग्गामा गरेको खेतीलाई अब भने विस्तार गर्ने सोचमा रहेको अमनले बताए ।
उनले विदेशिने सोच बदेलेर स्वदेशमै काम गरी कमाउने उद्देश्यसाथ लागिपर्ने आफ्नो योजना रहेको बताए । स्वदेशमै रोजगारी गर्ने वातावरण सरकारले मिलाउन नसकेकोप्रति चिन्तित युवा किसान अमनले कृषि नीतिमा समय सापेक्ष परिवर्तनको खाँचो रहेको औँल्याए । सरकारले किसानको हकहीतमुखी योजना लागू गर्नसके स्वदेशमै खेती किसानी गर्नेलाई राहत मिल्ने र व्यवसायिक रूपमा कृषि क्रान्ति सम्भव हुने धारणा राखे । रासस












