चितवन । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रालिले तिहारको अवसर पारेर आयोजना गर्न लागेको उज्यालो तिहार सांस्कृतिक कार्यक्रम –२०८०को तयारी पुरा भएको छ ।
भरतपुर भ्रमण बर्ष–२०२४ लाई लक्षित गर्दै तिहारको अवसर पारेर कार्तिक २४ गते शुक्रबार भरतपुरको सेरेना बुटिक होटलमा उक्त कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउनका लागि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । नेपालका चर्चित कलाकार निशान भट्टराई र नवगायिका बबी रोशा ढकालको बेजोड सांगितिक प्रस्तुती रहने संस्थाका अध्यक्ष राजु भट्टले जानकारी दिए ।
तिहारको अवसरमा कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने र भरतपुर भ्रमण बर्ष २०२४ लाई प्रर्वद्धन गर्न हामीले यो कार्यक्रम गर्न लागेका उज्यालो टाईम्स मिडियाका अध्यक्ष राजु भट्टले बताए । पत्रकारिता संगै संस्थागत सामाजिक उत्तरदायित्व भएकोले उक्त कार्यक्रम गर्न लागिएको उनले बताए।
यसअघि मिडीयाले पत्रकारिता संँगै अन्य सामाजिक कार्यक्रम गर्दै आएको र यस्तो सांस्कृतिक कार्यक्रम पहिलोपटक गर्न लागिएको उनले जानकारी दिए । तिहारमा सांगितिक मनोरञ्जनका साथै एकआपसमा सद्भाव भाईचारा र एकताको पनि सन्देश जाने उनको भनाई छ ।
कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुती र नृत्य एकेडेमीको बेजोड प्रस्तुति समेत रहनेछ । कार्यक्रमको लागि करीब शत प्रतिशत तयारी पुरा भईसकेको कार्यक्रमका संंयोजक राकेशमान श्रेष्ठले जानकारी दिए । ’हामी कार्यक्रमको अन्तिम चरणमा छौं , संयोजक श्रेष्ठले भने, कार्यक्रम पूर्ण रुपमा सफल हुनेछ भन्ने विश्वास लिएका छौं ।’
कार्यक्रममा ५ लाख बढी खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक कपिलसागर कर्माचार्यले बताए । कार्यक्रमबाट बचेको रकम असहाय, अनाथ बालबालिकाको क्षेत्रमा खर्च गरिने आयोजकको भनाई छ । कार्यक्रम भरतपुर बसपार्क नजिकको सेरेना होटलमा हुँदैछ ।











