सर्लाही । प्रतिनिधि सभाकी उपसभामुख रुवीकुमारी ठाकुरले मधेशमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध आफू निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकाद्वारा आइतबार आयोजित ‘बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रम’ लाई सम्बोधन गर्दै उहाँले यी कुप्रथाहरू मधेशबाट मात्र नभई देशैभरिबाट उन्मूलन हुनुपर्नेमा जोड दिनुभयो ।
छोरीलाई बोझ मान्ने लैङ्गिक विभेदका कारण बालविवाह हुने गरेको भन्दै उहाँले माता सीताको जन्मभूमिमा छोरी जन्मनु सौभाग्यको कुरा भएकाले मधेशले छोरीलाई सम्मान गर्न सिक्नुपर्ने उल्लेख गर्नुभयो । बालविवाह र दाइजो प्रथाले अन्ततः परिवारमा विखण्डन ल्याउने उहाँको भनाइ थियो ।
सोही कार्यक्रममा बोल्दै सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारीले समाजमा लामो समयदेखि जड गाडेर बसेको यो कुरीति र कुसंस्कारलाई शिक्षाको उज्यालो ज्योतिले मात्र हटाउन सक्ने दाबी गर्नुभयो । उहाँले सामाजिक परिवर्तनका लागि आफ्ना छोरीहरूलाई अनिवार्य रूपमा पढाउन अभिभावकहरूसँग आग्रह गर्नुभयो ।
मधेश प्रदेशका विभिन्न पालिकाका उपाध्यक्ष तथा उपप्रमुखहरूको समेत सहभागिता रहेको उक्त कार्यक्रममा पछिल्लो समय किशोरकिशोरीहरू घर छाडेर हिँड्ने प्रवृत्तिको सङ्केत गर्दै उपसभामुख ठाकुरले अभिभावकको सरसल्लाहलाई गलत सोचेर विद्रोह नगर्न युवा पुस्तालाई सुझाव समेत दिनुभयो ।
सामाजिक सचेतना जगाउने उद्देश्यले आयोजित सो अवसरमा छोरीलाई कक्षा १२ सम्म पढाएर २० वर्ष पुगेपछि मात्र विवाह गराउने अभिभावक, बुहारीलाई स्नातक (ब्याचलर) तहसम्म पढाउने सासू-ससुरा र दाइजो नलिई विवाह गर्ने आदर्श जोडीहरूलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
उक्त गाउँपालिकाले बालविवाह न्यूनीकरण र छोरीहरूको शिक्षाका लागि उदाहरणीय कार्य गर्दै आएको छ । चन्द्रनगर गाउँपालिकाले २० वर्ष पार गरेर विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै पुगेर नगद ५० हजार रुपैयाँसहित सम्मान गर्ने गरेको छ भने कक्षा १२ सम्म पढ्ने छोरीहरूलाई पठनपाठनमा प्रोत्साहन मिलोस् भनी एकमुष्ट ११ हजार रुपैयाँ आर्थिक सहयोग समेत प्रदान गर्दै आएको छ ।











