मुस्ताङ । एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्रको जोमसोमस्थित इलाका संरक्षण कार्यालयले जनाएको छ ।
४८ देशका पर्यटक आएकामध्ये सबैभन्दा बढी ३३ हजार ४५७ जना भारतीय रहेका एक्याप जोमसोमका प्रमुख अशोक सुवेदीले बताए । दुई हजार ७४३ जना विदेशी पर्यटक मनाङहुँदै पाँच हजार ३०० मिटर उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ आएका हुन् ।
यसैगरी एक हजार ५६६ जना पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । कागबेनीदेखि कोरला नाका सम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा जान विदेशीले सात दिनका लागि पाँच सय डलर शूल्क तिर्नुपर्छ ।
गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलककालाई प्रतिव्यक्ति रु एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति रु तीन हजार शुल्क तोकिएको छ । मुस्ताङ भ्रमण गर्ने पर्यटकको प्रवेश शुल्कबाट गतवर्ष नौ करोड उनान्चालीस लाख राजस्व सङ्कलन भएको एक्यापले जनाएको छ ।
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । कोरोना (भाइरस)को महामारीका कारण यसअघिका दुई वर्ष सुनसान बनेको मुस्ताङमा पछिल्लो यामदेखि पर्यटकको चहलपहल बढेको हो । कोरोना कहरअघि वार्षिक ६० हजार विदेशी पर्यटक मुस्ताङ आउने गरेको एक्यापको तथ्याङ्क छ ।
मुस्ताङमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ । कोरोना (भाइरस)को महामारीका कारण थला परेको पर्यटन क्षेत्र चलायमान बन्न थालेको हो । पर्यटकको चहलपहलसँगै पर्यटकीय क्षेत्रका बासिन्दा, पर्यटन, होटल ब्यवसायी र मजदूरलाई राहत मिलेको छ ।











