काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको सन्दर्भमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् । उनले गृहमन्त्रीको ‘बद्तमिज र गैरजिम्मेवारी’ले हद नाघेको उल्लेख गरेका छन् ।
कम्बोडिया भ्रमणबाट फर्केका अध्यक्ष ओलीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग गृहमन्त्रीले दिएको अभिव्यक्ति र उनको कार्यशैलीमाथि टिप्पणी गरेका हुन् ।
‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ । उहाँले एयरपोर्टमा सेक्युरिटी बन्दोबस्त गर्नु भएको छ कि छैन ? एयरपोर्टमा सक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जानेहरुको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ?’ अध्यक्ष ओलीले भने, ‘अनि क्विन्टलका क्विन्टलका सुन बाहिर जान्छ गृहमन्त्री ‘कोट’को गाला र ‘टार’को गालामा काँक्राको बियाँ टाँस्दै हुनुहुन्छ । यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार छ । आफू गृहमन्त्री भएर यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने ?’
गृहमन्त्री श्रेष्ठले सुन पक्राउ परेपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि ‘टार, कोट र पार्टी’ ले पनि यसको छानबिनमा रोक्न नसक्ने बताएका थिए ।












