काठमाडौँ । यस वर्षको विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसाद पूर्वी मोहडा गरेर टीका लगाउन सकिने समितिले जनाएको छ ।
देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र टीका थाप्ने चलन छ ।
दशैँ नेपालको राष्ट्रिय चाड हो । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।
घटस्थापनाको शुभ साइत भने असोज १० गते बिहान १०ः२३ बजे रहेको छ । यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ । असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ ।
बडा दशैँका अवसरमा बजार पसलमा पनि भीड हुने गर्छ । राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ । दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ ।











