भरतपुर । उद्योग वाणिज्य संघ चितवनले आफ्नो व्यवसायिक भवनमा वहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । नेपाल घरबहाल उपभोक्ता मञ्च र विभिन्न व्यवसायीले पनि घरभाडामा २० प्रतिशत छुट गर्न घरधनीलाई अपिल गरिरहेका छन् ।
संघकोे बुधवार बसेको १५औं कार्यसमितिको बैठकले संघको नाममा शहिदचोकमा रहेको व्यावसायिक भवनमा वहालमा लिई व्यवसाय गर्ने व्यवसायीहरूलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो ।
आर्थिक जटिलताको कारण व्यवसायी आर्थिक समस्यामा परेकोले उद्योग वाणिज्य संघ चितवनले घरभाडामा लगाउने घरधनीहरुलाई आफ्नो अनुकलता अनुसार घरभाडामा छुट दिनको लागि यस अगावै अपिल गरिसकेको छ । देशमा व्याप्त चरम आर्थिक मन्दिका कारण व्यवसायिक गतिविधिमा ह्रास आएको हुँदा व्यवसायीहरु घरभाडासमेत तिर्न नसक्ने अवस्थामा व्यवसायीहरू पुगेको संघले जनाएको छ ।
कोभिड १९ र तत् पश्चात सृजित व्यवसायिक जटिलता, बैंक व्याज वृद्धि जस्ता समस्याहरूको सामना गर्दै आएका उद्योगी व्यवसायीहरू अहिले चरम आर्थिक मन्दीमा परेका कारण व्यवसायीलाई छुट दिने कार्य आफैबाट शुरु गरिएको संघका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । वर्तमान अवस्थालाई मध्यनजर गरी अरू घर धनिहरुले कम्तिमा परिस्थिती सहज नहुंदासम्मको लागि घर भाडामा केहि प्रतिशत छुट दिन उनले आग्रह गरे ।
घर बहाल सम्झौता बमोजिम यस वर्ष घर भाडा बृद्धि गर्ने समय आएका घरधनिहरुले यो समयमा घरभाडामा बृद्धि नगरी राहत प्रदान गर्न संघले अपिल गरेको छ । संघको मातहतमा रहेको व्यवसायिक भवनमा व्यवसाय गरिरहेका व्यवसायीलाई सम्झौता बमोजिम यस वर्ष बृद्धि हुने भाडा रकम समेत छुट दिएको संघले जनाएको छ ।
घर बहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष ख्याम नारायण पराजुलीले संघले गरेको निर्णयको स्वागत गरेका छन् । निरन्तरको खबरदारीपछि भाडा घटाएर संघले सुरुवात गरेको भन्दै उनले व्यवसायिक भवन, सटर र कोठाको भाडा घटाउन अरु घरधनी र संघसंस्थालाई पनि आग्रह गरे ।
चरम आर्थिक तथा व्यवसायीक मन्दीका कारण घरभाडामा सहजीकरणका लागि विभिन्न व्यवसायी संघहरुबाट गरेको अपिलको सुरुवात उधोग वाणिज्य संघ चितवनले गरेको भन्दै घरबहाल उपभोक्ता मञ्च चितवनले आभार प्रकट गरेको छ । बिषम परिस्थितिमा ‘बाचौ र बचायौ अभियान भएकोले सम्पूर्ण घरधनी र संघ संस्थाबाट पनि कार्यान्वयन हुनेमा बिस्वस्त रहेको उपभोक्ता मञ्चले जनाएको छ।












