काठमाडौं। आइतबारदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को परिसूचकमा बुधबार पनि दोहोरो अङ्कको वृद्धि भएको छ। कारोबार रकम पनि बढेर ५ अर्ब नाघेको छ।
आज नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर २ हजार ३७ दशमलव ६ अङ्क कायम भएको छ।
आज २७५ वटा कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता शेयर ७९ हजार ४६१ पटक खरिदबिक्री हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।
विकास बैंक समूह ३६ दशमलव २१, वित्त १५ दशमलव ८९, होटल तथा पर्यटन ४३ दशमलव १६, लगानी शून्य दशमलव ३९, निर्जीवन बीमा ६७ दशमलव २७ र लगानी समूह २० दशमलव ०९ अङ्कले घटेको छ।
उपसूचक बढ्नेमा सबैभन्दा धेरै जीवन बीमा समूह १६४ दशमलव ६६ अङ्कले बढेको छ। बैंकिङ १५ दशमलव ७४, जलविद्युत् १२ दशमलव ६, उत्पादन तथा प्रशोधन ३४ दशमलव १६, लघुवित्त ६५ दशमलव १, म्युचुअल फन्ड शून्य दशमलव १ र अन्य समूह ३२ दशमलव ९० अङ्कले बढेको छ।
आजको कारोबारमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य ५ दशमलव ६२ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै २८ करोड १७ लाख ८ हजार ८४२ रुपैयाँ बराबरको ५ लाख ३४ हजार ४५६ कित्ता शेयर किनबेच भएको छ।












